१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भारतमा नागरिकता कानुनको विरोध : १४ प्रदर्शनकारीको मृत्यु (तस्बिरसहित)

६ पुस, काठमाडौं भारतमा नागरिकता कानुनको विरोधले हिंसात्मक रुप लिएको छ । नरेन्द्र मोदी सरकारले ल्याएको संशोधनसहितको नागरिकता कानुनको विरोधमा भारतका विभिन्न ठाउँमा भएका विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

यसैको विरोधमा विभिन्न संघ-संगठनले हिजो संयुक्त रुपमा केन्द्रीय रेल्वे स्टेसनमा प्रदर्शन गरेको थिए । प्लेकार्ड र ब्यानरसहित प्रदर्शनकारीहरुले संशोधित कानुनको खारेजीको माग गरेका छन् ।

असम, मेघालय र पश्चिम बंगालमा केही सुधारात्मक प्रदर्शन भए पनि उत्तर प्रदेशका विभिन्न सहरमा भने शुक्रबार र शनिबार हिंसात्मक प्रदर्शन भए । प्रहरीले उत्तर प्रदेशका विभिन्न सहरबाट ३ हजार, पश्चिम बंगालमा ६ सय र दिल्लीबाट १६ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका क्रममा उत्तर प्रदेशमा ११ जनाको मृत्यु भएको छ । नागरिकता कानुनको विरोधमा प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या भने १४ पुगेको छ । प्रदर्शनकारीको आक्रमणबाट झन्डै ५० बढी प्रहरी घाइते भएका छन् । –एजेन्सी

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०७:०८