१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छः मन्त्री अर्याल

४ पुस, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो । ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ । अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ । त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ ।’

सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताउनुभयो । अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताउनुभयो । संस्था धेरै भएर मात्र प्रगति नहुने भन्दै उहाँले बित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा बढी मर्जर गर्न खोजिएको बताउनुभयो । संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउदा बढी राम्रो हुने उहाँको भनाइ थियो ।

सरकार, सहकारी र नीजि क्षेत्रलाई राज्यले संविधान मार्फत विकास र समृद्धिको साझेदार मानिसकेको दोहो¥याउदै मन्त्री अर्यालले अब सहकारीमार्फत मुलुक समृद्धिको दिशामा अगाडी बढ्नुपर्ने बताउनुभयो । कृषिको आधुनिकिकरण, यान्त्रिकिकरण र औद्योगिकिकरणमा राज्य अगाडी बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने उहाँको भनाई थियो ।

राष्ट्रिय पुँजिको निर्माण आजको मूल विषय भएको भन्दै मन्त्री अर्यालले उत्पादन र उत्पादकत्व बृद्धि नरी राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताउनुभयो । राज्यले लिएको समाजवादमा पुग्ने लक्ष्य पुरा गर्न सबै प्रकारको गरिबीको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । ‘सबै प्रकारको गरिबीको अन्त्य पहिलो मन्त्र हो । सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेशन गर्ने शक्ति छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘२÷४ जनाले प्रगति गरेर हुदैन । तल्लो वर्गलाई माथि उठाउनेरी अबको सहकारी गतिविधि सञ्चालन गर्नुस् ।’

निम्न वर्गलाई सदस्य बनाएर आफ्नो सदस्यलाई माथि उठाउने गतिविधि गर्न आग्रह गर्दै मन्त्री अर्यालले आफ्नो सदस्यहो हितका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १७:२४