१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

कर्मकाण्डी शैलीमै त्रिविको दीक्षान्त !

३० मंसिर, काठमाडौं त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह पनि परम्परागत रूपमै आयोजना हुने भएको छ । विश्वविद्यालय पदाधिकारीका हातबाटै प्रमाणपत्र लिने पश्चिमा परम्परा भए पनि नेपालमा त्यस्तो अभ्यास थालिएको छैन ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोहमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिने र बाँकीलाई काउन्टरबाट वितरण गरिने बताउँदै भने, “विद्यार्थी धेरै छन् । सबैलाई पालैपालो प्रमाणपत्र दिन सम्भव हुँदैन ।” आउँदो पुस ३ गते त्रिविको दीक्षान्त समारोह हुँदै छ ।

बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका उपकुलपति प्राध्यापक लिन डप्स शनिबार दिनभरि नै काठमाडौँमा व्यस्त रहे  । सो विश्वविद्यालयबाट सम्बन्धन लिई काठमाडौँमा सञ्चालित स्लिङ्टन कलेजले आयोजना गरेको दीक्षान्त समारोहमा उपकुलपति लिनले दीक्षित ४ सय २७ विद्यार्थीलाई क्रमशः प्रमाणपत्र प्रदान गरे ।

अघिल्लो साता त्रिवि सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एकैपटक दीक्षान्त समारोहको आयोजना गर्ने विधि ठीक होइन भन्दै त्रिविले यसलाई औपचारिक कर्मकाण्डका रूपमा र विद्यार्थीले पनि सामाजिक सञ्जालमा गाउन लगाएको तस्बिर राख्ने माध्यम बनाउन नहुने बताएका थिए ।

त्रिविले विद्यार्थीलाई भेला गर्ने र भीडलाई ‘प्रतीज्ञा गर्छु’ भन्न लगाएर दीक्षान्त समारोह सक्ने गरेको छ । कहिले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गरिएको दीक्षान्त समारोह गत वर्षजस्तै यसपटक पनि पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरको खेलमैदानमा आयोजना गरिँदै छ ।

पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेको खबर गोरखापत्र दैनिकमा छ । गत वर्ष पनि ७४ हजार २८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए  । दीक्षान्त समारोहको तरिकाप्रति इच्छा नजनाएर अधिकांश विद्यार्थीले फाराम भर्ने गरेका छैनन्  । अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरू बढेको परीक्षा नियन्त्रक जोशीको दाबी छ । यसपटक ७ हजार अभिभावक उपस्थित रहने अनुमान गरिएको छ  । त्रिविले यसपटकको दीक्षान्त समारोहमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राडा मोहम्मद अतिरुज्मानलाई आमन्त्रण गरेको छ । नेपालमा २०१४ चैत २२ गते पहिलो दीक्षान्त समारोहको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार ०६:३०