१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बेमौसमी वर्षाले साढे ८६ करोड रुपैयाँको इँटा नष्ट

२९ मंसिर, रुपन्देही बेमौसमी पानीले प्रदेश ५ मा करोडौंको काँचो इँटा नष्ट भएका छन् । प्रदेश ५ इँटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ इँटा उद्योगका अधिकांश काँचो इँटा नष्ट भएको जानकारी दिएको छ ।

प्रदेशका अध्यक्ष थानेश्वर घिमिरेले विज्ञप्ति जारी गर्दै प्रदेशमा रहेका इँटा उद्योगहरुमा पोल्न तयार करिब ८६ करोड ६८ लाख मूल्य बराबरको इँटा नष्ट भएको बताएका छन् ।

नवलपरासी पश्चिममा २ करोड, नवलपरासी पूर्व २ करोड, रुपन्देही ३ करोड ५० लाख, कपिलवस्तु ३ करोड, दाङ २ करोड २५ लाख, बाँके ३ करोड, बर्दिया २ करोड ५० लाख वटा इँटा नष्ट भएको संघले जनाएको छ ।

अधिकांश उद्योगले इँटा पोल्ने तयारी अवस्थामा राखेको १८ करोड २५ लाखभन्दा बढी इँटा आकस्मिकको वर्षाले नष्ट भएको छ । करोडौँको इँटा क्षति भएकोले इँटा व्यवासायी मर्कामा परेका छन् । यस अवस्थामा इँटा उद्योगहरुलाई धरायसी हुनबाट बचाउन नेपाल सरकार एवं प्रदेश सरकारसँग यस आर्थिक वर्षको माटो र भस्कटमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गरिदिन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०७:२७