तेह्रौं सागको समापनमा प्रधानमन्त्री ओलीको सन्देशः साग सफल र ऐतिहासिक (भिडियाेसहित)
२४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को समापनमा भिडियोमार्फत सम्बोधन गर्नुभएको छ । सम्बोधनमा प्रधानमन्त्री ओलीले साग ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै सन्देश दिनुभएको छ ।
यताे छ प्रधानमन्त्री ओलीकाे सन्देशः
दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ । यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ । यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ । पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन् । समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ ।
यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ । यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु । र, धन्यवाद भन्न चाहन्छु ।
काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु । अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु । यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु ।
आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १९:०७