१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पाँचै वर्षका लागि ओली प्रधानमन्त्री भन्न सकिन्नः प्रचण्ड

८ फागुन चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचै वर्ष केपी ओली नै प्रधानमन्त्री हुन्छन भनेर भन्न नसकिने बताएका छन । मंगलबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले मंगलबार भरतपुरमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले भने ‘ओली दुई वर्षका लागि प्रधानमन्त्री हुने निश्चत छ । पार्टीको महाधिवेशन सम्पन्न हुन दुई वर्ष लाग्छ र त्यसपछि के हुन्छ भन्ने कुरा पार्टीले नै निर्णय गर्छ ।’ प्रचण्डले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताए ।

अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने बताए । उनले महाधिवेशन नभएसम्म दुवैैजना अध्यक्ष प्रणालीमा गएको भन्दै आजबाट केपी ओली र आफूलाई अध्यक्ष मान्न आग्रह गरे । व्यवहारिक र सैद्धान्तिक रुपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । 

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १५:५६