२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

महोत्तरीका किसानलाई पछिल्लो वर्षाले बर्खेबाली लगाउने व्यस्तता


१८ वैशाख, बर्दिवास । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि आज बिहानसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली लगाउने तयारीमा लागेका हुन् ।

बर्खे मकै, कोदो, जुनेलोलगायतका बाली लगाउन ढिलो भइरहेका बेला आइतबार र सोमबाट माटो गालेर पानी परेपछि जिल्लाको उत्तर क्षेत्रका किसानको व्यस्तता बढेको छ । मकै, कोदो र जुनेलोलगायतको बाली लगाउनुका साथै जिल्लाको बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा बर्खे धानको ब्याड राख्न परेको यस भेगका किसानले बताएका हुन् ।

“वैशाख पहिलो साताभित्रै लगाइन पर्ने मकै, कोदो, जुनेलो र धानको ब्याड राख्ने काम चिस्यानको कमीले गर्न सकिएको थिएन”, बर्दिवास–१३ का किसान रामविलास सिंह कुशवाहाले भने “वैशाख तेस्रो साता लागेपछि बालीनाली लगाउन पर्याप्त चिस्यान हुने पानी परेको छ, त्यसैले हाम्रो व्यस्तता बढेको हो ।”

जिल्लामा करीब ७० हजार हेक्टर जग्गा खेतीयोग्य भए पनि स्थायी सिँचाइ सुविधा छ हजार हेक्टरमा मात्र छ । धेरै जग्गा आकाशे पानीकै भरमा खेती गरिने भएकाले पानी पर्नासाथ सबैतिर एकैपटक खेतीपातीको व्यस्तता बढ्ने गरेको जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १४:२५