२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बालविवाहविरुद्धको सयदिने अभियान अाजदेखि


१८ वैशाख, काठमाडाैँ । बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन २३ गतेसम्म सो अभियान सञ्चालन हुने बताइएको छ । सिआइएनका प्रमुख दीपक आचार्यले अझै पनि नेपाली समाजमा हुँदै आएको बालविवाहविरुद्ध सञ्चारमाध्यमबाट विभिन्न व्यक्तिको प्रतिबद्धता र विचार प्रस्तुत गरिने बताउँदे भन्नुभयो, ‘‘हामी अभियान अवधिभर देशभरका दशौँ हजार व्यक्तिसम्म पुग्नेछौँ, सामुदायिक रेडियोहरूले विभिन्न ठाउँहरूबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल र जनताका विचारहरू पनि प्रसारण गर्नेछन् ।’’

उहाँले बालविवाहसम्बन्धी आफ्ना विचार र प्रतिबद्धता व्यक्त गर्न चाहने व्यक्तिले सिआइएनको स्टुडियोमा गएर वा टेलिफोन, मोबाइलमा रेकर्ड गर्न सक्ने व्यवस्था भएको जानकारी दिनुभयो । वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रतिनिधि पुष्कर खातीले अभियान कुनै आयोजना नभएर जनचेतना वृद्धि गर्दै बालविवाह नियन्त्रणमा सहयोग गर्ने हेतुले सञ्चालन गर्न लागिएको बताउनुभयो ।

युनिसेफको तथ्यांकअनुसार दक्षिण एशियामा बालविवाहको दर सबैभन्दा उच्च छ । हरेक दुईमध्ये एक बालिकाको विवाह १८ वर्ष नपुग्दै हुन्छ । सो तथ्यांकलाई आधार मान्ने हो भने एशियामा बङ्गलादेश, भारत र नेपाल बालविवाह हुने देशमा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा पर्छन् । सन् २०१७ अगष्ट १० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने पाँचवर्षीय अभियान पनि सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०५:४४