२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक छैन: प्रधानमन्त्री अाेली


१७ वैशाख, लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताउनुभएको छ । २५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोहोर्‍याउँदै दोधार हुन आवश्यक नभएको बताउनुभयो । ‘‘किनभने भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका भनेर गएका छन्’’ प्रधानमन्त्रीको प्रश्न थियो, ‘‘किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँछन् ।’’

बुद्ध दर्शन नेपालबाटै सुरु भएको बताउँदै प्रधानमन्त्रीले बहस र विवादको विषय नबनाउन आग्रह गर्नुभयो । ‘‘बुद्धका उदपदेश कालजयी छन्, आज पर्यन्त पनि उत्तिकै सान्दर्भिक छन्’’ उहाँले भन्नुभयो, ‘‘मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् ।’’

प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरताका आवश्यक भएको बताउनुभयो । उहाँले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउँकोरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनीमा फल्ने र फुल्ने विरुवाहरु रोप्न आग्रह गर्दै प्रधानमन्त्रीले यहाँ सुगन्ध ज्ञानमा मात्रै होइन हावामा पनि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्ध जयन्तीलाई विश्व उत्सवकोरुपमा मनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीले रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई विशेष महत्वका साथ विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार १३:२५