११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

निर्देशकको राजीनामापछि क्यान्सर अस्पतालको सेवा नियमित

१० मंसिर, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजीनामा दिएपछि सेवा पुन: सञ्चालनमा आएको छ । अस्पतालको पुरानो व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल निर्देशकमा डा. दीपेश धिताल, मेडिकल उप-निर्देशकमा डा. अजयकुमार झा र डा. उत्सवमान श्रेष्ठलाई नियुक्त गरिएलगत्तै पदबहाली गर्न आएपछि आइतबार त्यसको विरोधमा अस्पताल तनावग्रस्त बनेको थियो ।

अस्पतालमा नाराबाजी र झडप हुँदा बिरामीले पाउने सेवामा समेत असर परेको थियो भने पदबहाली गर्न आएका पदाधिकारी एवं कर्मचारीलाई स्थानीयले समेत आक्रमण गरेका थिए । सो क्रममा स्थानीयले सवारीसाधन तोडफोड गरेका थिए ।

त्यस्तै कर्मचारीले भ्रष्टाचारको छानबिन गरी कारबाही नगरेसम्म पुरानो व्यवस्थापन समितिका पदाधिकारीलाई प्रवेश निषेध गरेका छन् । घटनापछि नवनियुक्त मेडिकल निर्देशकमा डा. धिताल, मेडिकल उपनिर्देशकमा डा. झा र डा. श्रेष्ठले सोमबार विज्ञप्ति प्रकाशित गरी आफूहरुले पाएको पद त्याग गरेको लिखित घोषणा गरी बिरामीको सेवामा समर्पित हुने, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन एक भएका सबै कर्मचारीलाई साथ दिई ऐक्यबद्धता जनाएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।

पद त्याग गरेपछि सोमबारबाटै अस्पतालको सबै सेवा सञ्चालन भएको र बिरामीलाई कुनै डर र सङ्कोच नराखी अस्पतालमा निर्धक्क भएर उपचारमा आउन आह्वान गरेको छ । साथै बिरामीको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मीसमेत तैनाथ भएको उनले जानकारी दिए । –रासस

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०९:०९