१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन दशरथ रंगशालामा

१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी छ । योसँगै यसको औपचारिक उद्घाटन स्थलको पनि टुंगो लगाइएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन दशरथ रंगशालामा गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा सोमबार बसेको भ्रमण वर्षको मूल आयोजक समिति बैठकले राजधानीको दशरथ रंगशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटनमन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी छ ।

जनवरी १ को दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा हुने भव्य समारोहमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्नेछिन् । उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटनमन्त्री, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु, विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता हुने पर्यटनमन्त्री योगेश भट्टराईले सो अवसरमा जानकारी दिए ।

उदघाटन कार्यक्रमका दिनमा काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी गरिने तयारी पनि छ । विदेशमा नेपालको कूटनीतिक उपस्थिति रहेका ठाउँमा जनवरी ७ मा औपचारिक रूपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिनेछ । राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उदघाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ । भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ ।

भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रैमहिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ ।

बैठकका निर्णयहरु यस्ता :

– राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन हुने ।

– उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन गर्ने ।

– मूल आयोजक समिति सदस्यहरुले एक साताभित्रमा आफूले के-के गर्ने भन्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने ।

– प्रचार सामग्री त्रिभूवन विमास्थलमा राखिने ।

– विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामग्री उपलब्ध गराउने ।

– विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई केही न केही नेपालको उपहार दिनुपर्ने वा कामदार भए आफू कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने ।

– सबै राजनीतिक दलहरुसँग साझा कार्यक्रमको लागि पहल गरिने ।

– प्रदेशसभाले पनि पर्यटन वर्षको उद्घाटनको चाँजोपाजो मिलाएर यसको जानकारी १५ दिनभित्र भ्रमण वर्ष सचिवालयमा पठाउने ।

– नेपालभित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने ।

– नेपाल भ्रमण वर्ष २०२० मुख्य आयोजक समितिमा रहनु हुने विभिन्न संघ-संस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षबारे प्रस्तुतीकरण गर्ने ।

– सार्वजनिक स्थललाई झकिझकाउ गरी सौन्दर्य बनाउन पहल गर्ने ।

– उपत्यकाभित्रका स्थानीय निकायसँगको सहकार्यमा सरसफाई थालिने ।

– दुबईको बुर्ज खलिफालगायत विश्वका गगनचुम्नी भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूतावाससँग समन्वय गर्ने ।

– नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत भ्रमण वर्षको प्रवर्द्धन गर्ने ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०८:५१