१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्याजको भाउ ५ सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

१० मंसिर, काठमाडौं । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै ५ सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मंसिरमा प्रतिकेजी ३१ रुपैयाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपैयाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २ सयदेखि २ सय २० रुपैयाँसम्म कारोबार भइरहेको गोरखापत्र दैनिकमा खबर छ ।

उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।

भाउ अझै चर्को हुनसक्ने
नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा ८-१० दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २ सयदेखि २ सय २० रुपैयाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमनै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् । उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा प्याजको कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको बताए ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०७:३६