५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

श्रम स्वीकृति अब अनलाइनबाटै

९ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले आउँदो मंसिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ । गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको गोरखापत्र दैनिकमा खबर छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्य साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुनेछ । सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने भन्दै महानिर्देशक भुसालले थपे, “पाल्पाबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ ।”

उनले यो प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए । यस्तै श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नुपरे विभागले मोबाइलमा एसएमएस (मेसेज) पठाउने व्यवस्था गर्न लागेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार ०७:३९