१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कंगोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु

७ मंसिर, काठमाडौं कंगोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ ।

यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट संक्रमित रहेका पनि समाचारमा जनाइएको छ । कंगोमा दादुरा निकै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ ।

कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुईगुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।

कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि २ हजार जनाको ज्यान गएको थियो । कंगोका स्वास्थ्य अधिकारीले गत वर्षको अगस्तबाट उक्त संक्रमणबाट कम्तीमा पनि २ हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन् ।

कंगो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बरमा ८ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच अभावमा दादुराको संक्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।

हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो । –रासस

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०९:१३