३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रदेश र केन्द्र सरकारको नेतृत्वमा सहभागिता शून्य भएपछि धमाधम छायाँ सरकार बनाउँदै कांग्रेस

१६ वैशाख, काठमाडाैँ । प्रदेश र केन्द्र सरकारमा शून्य उपस्थिति भएपछि नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्न सुरू गरेको छ । केन्द्रीय समिति बैठकमा छलफल चलाएरै छायाँ सरकारको अवधारणा कार्यान्वयन गर्न लागेको कांग्रेसले अाफ्नो नेतृत्व नभएको स्थानीय तहमा धमाधम छायाँ सरकार गठन गर्न थालेको छ । यसैबीच डोल्पा कांग्रेसले जिल्लाको  त्रिपुरासुन्दरी नगरपालिकामा छाँया सरकार गठन गरेको छ ।

नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ । अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १३:३८