१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

विद्यालयमै सेनेटरी प्याड निस्कने मेसिन

३ मंसिर, हुम्ला । हुम्लाको एउटा विद्यालयमा पहिलोपटक छात्राका लागि स्वाचालित सेनेटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरिएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविमा छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन जडान भएको हो ।

गाउँपालिकाले आफ्ना वडामा रहेको ७ माध्यामिक विद्यालयमा स्वचालित सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । जिल्लाका ७ गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले विद्यालयमा अध्यनरत छात्राको सुविधाका लागि सेनेटरी प्याड उपलब्ध गराउने मेसिन सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताए ।

उनले भने, ‘हुम्लामा छात्रा महिनावारी भएका बेलामा विद्यालय कक्षा छाड्ने र घरमा भन्न लजाउने बाध्यताको अन्त्यका लागि पालिकाले उक्त मेसिन सहयोग गरेको हो ।’ एक लाख ६० हजारका दरले ७ विद्यालयका लागि ११ लाख २० हजारमा ७ मेसिन खरिद गरी विद्यालयलाई निःशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।

पहिलोपटक विद्यालयमा मेसिन जडान भएपछि छात्राहरु खुसी भएको अध्यक्ष लामाले बताए । विद्यालयमा छात्राहरुले अब प्याड मेसिनबाटै पाउने भएका छन् । सेनेटरी प्याड उपलब्ध गराउने मेसिनमा एकपटकका लागि ३ सय वटा प्याड एटिएमको सिस्टमबाट आफैँ उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुव्र शाहीले जानकारी दिए ।

मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास प्रधानाध्यापक कैलाश रोकायाको छ । हुम्ला जस्तो दुर्गम जिल्लामा छाउपडी व्याप्त रहेको र छात्रा महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउने र विद्यालयमा महिनावारी हुँदा पढ्दापढ्दै भागेर जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनले बताए । –रासस

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०८:३२