१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुस्त

२ मंसिर, काठमाडौं । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरे पनि अझै ३५ हजार २ सय विद्यालयमा सो कार्यक्रम पुग्न सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ३५ हजार ६ सय १ विद्यालय छन् । अहिलेसम्म ३ सय ९२ विद्यालयमा मात्र नर्सिङ कार्यक्रम लागू भएको छ । यस्तै, ३० थप विद्यालयमा यो वर्ष ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने सरकारको तयारी छ । अहिलेसम्म प्रभावकारी तवरबाट प्रदेश १ र ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि बढेको राजधानी दैनिकमा खबर छ ।

सांकेतिक तस्बिर ।

अहिलेसम्म झन्डै २ सय बढी विद्यालयमा नर्स कार्यक्रम सुरु भएको छ । प्रदेश १ का ५४ र प्रदेश ३ का १ सय २१ विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम लागू भएको छ । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८३ लाख ४९ हजार ६ सय ५१ विद्यार्थी अध्ययनरत छन् । जबकि दर्तावाल नर्सको संख्या ९० हजार ८ सय १७ छ । अन्तर्राष्ट्रिय मान्यतालाई हेर्ने हो भने ७ सय देखि ८ सय विद्यार्थीलाई एक नर्सले सेवा दिएका हुन्छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार ०८:००