१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ओली सरकारले फलामखानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि तनहुँका स्थानीयवासी खुशी

३० कात्तिक, तनहुँ । सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । सोही फलामखानीको फलामबाट सयौँ वर्ष अगाडि भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण अवस्थामा छ ।

भूगर्भविद् ठाकुरप्रसाद कँडेलले भक्कल सामुदायिक वन क्षेत्रमा फलाम रहेको जानकारी पाएपछि सर्वेक्षण गरिएको जानकारी दिनुभयो । कँडेलका अनुसार विभागको टोली एक हप्तादेखि यस क्षेत्रमा खटिएको छ । “वन क्षेत्रको जमीनमुनि करेन्ट पठाएर कति गहिराइसम्म फलाम छ भनेर अध्ययन गरिरहेका छौँ”, कँडेलले भन्नुभयो । उहाँका अनुसार भू–भौतिक सर्वेक्षण अप्रत्यक्ष विधि भएको र यो विधिबाट जमीनमुनि करेन्ट पठाइन्छ ।

तस्बीरः नागरिक दैनिकबाट साभार ।

जमीनको सतहमुनि कति गहिराइसम्म फलाम छ स्क्यान भएर डाटा देखिने उहाँले बताउनुभयो । सम्भाव्यता अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाउने तयारी गरिएको छ । यसअघि पनि फलामखानीको अन्वेषण र सम्भाव्यता अध्ययन गर्न दुई पटकसम्म भू–र्गभविद्सहित विभागको टोली यस क्षेत्रमा आएको थियो ।

पहिलोपटक आएको टोलीले खानी भएको क्षेत्रको नक्साङ्कन गरेको र दोस्रोपटक आएको टोलीले खानीमा भेटिएका धातुको नमूना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा लगेको थियो । उक्त नमूना परीक्षण हुन बाँकी रहेको बताइएको छ । यस क्षेत्रको करीब ४२ वर्गकिलोमिटर क्षेत्रफलमा फलाम र तामाखानी फैलिएको छ । साँखेतर्फ क्याङ्दीखोलादेखि भक्कल वरपरका क्षेत्रमा फलामखानी र मिनामखानीको क्षेत्रमा तामाखानी भएको अनुमान छ ।

सरकारले गत वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँ, पर्वत र नवलपुरको फलामखानी उत्खनन गरी सञ्चालनमा ल्याउने बताएको थियो । फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएका शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । यसै क्षेत्रबाट निर्वाचित सांसद केदार सिग्देलले खानीको अन्वेषण र उत्खननमा सरकारले चासो देखाएको जानकारी दिनुहुँदै छिटोभन्दा छिटो अध्ययन सकेर खानी सञ्चालन गर्न दबाब दिइने बताउनुभयो । रासस

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार २१:०४