१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

२७ कात्तिक, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ  । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो  । ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन्  ।

०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ  । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए  । भ्यु–टावरका लागि ५ बिघा छुट्याइएको कान्तिपुर दैनिकमा खबर छ  । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्  ।

टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए  । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ  । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन्  । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ  । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत बनाइने इन्जिनियर यादवले बताए  ।

ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो  । निर्णयलगत्तै स्थानीयले निःशुल्क जमिन उपलब्ध गराएपछि प्रधानमन्त्रीले ०७३ जेठ २८ गते शिलान्यास गरेका थिए  । ठेक्का संयुक्त भए पनि अहिले ओम साइराम जेभीले मात्र काम गरिरहेको छ  । ‘अहिले जगको काम भइरहेको छ,’ आयोजनाका निमित्त प्रमुख सिंहले भने, ‘ठूलो संरचना भएकाले जग बलियो बनाउन ‘पाइल’ प्रणालीबाट काम गरिरहेका छौं  ।’ हाल चार मेसिन र दैनिक करिब ३ सय श्रमिक निर्माणमा खटिइरहेको उनले जानकारी दिए  । भ्यु–टावर निर्माण सुरु भए पनि अधिकांश नगरवासी टावरको सट्टा दमकमा अरू नै आयोजना आवश्यक रहेको बताउँछन्  ।

समाजवादी पार्टी प्रदेश १ अध्यक्षसमेत रहेका स्थानीय प्रवीन चाम्लिङले दमकमा भ्यु–टावर आवश्यक नभएको तर्क गरे  । भ्यु–टावर निर्माणबारे नगरवासीको फरक सुझाव सम्बन्धित निकायले नसुनेको उनको गुनासो छ  । ‘पछिल्लो समय यसबारे हामीसँग औपचारिक छलफल भएको छैन  । दुई वर्षअघि नगरपालिकाले गरेको छलफलमा मैले भ्यु–टावरको सट्टा अत्याधुनिक सरकारी अस्पताल बनाउन सुझाव दिएको थिएँ,’ उनले भने  ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ०७:५२