१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

सरकारी अनुदानमा साना जलविद्युत् आयोजना

२४ कात्तिक, काठमाडौं । सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका ५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युतको परीक्षण उत्पादन सुरु भएको हो ।

स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा आयोजना निर्माण पूरा भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट ९ करोड २७ लाख रुपैयाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।

यसबाहेक संघीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ आयोजनालाई उपलब्ध गराएको गोरखापत्र दैनिकले खबर छापेको छ । २०६९ सालदेखि बनाउने पहल हुँदै आएको आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्‍याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुंगाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।

जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले जानकारी दिए । स्थानीय ताराखोलाको पानी २ किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्फत टर्वाइनमा पुर्‍याइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार ०७:२६