५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

बीमा व्यवसायीहरूलाई दाबी भुक्तानीमा विलम्ब नगर्न अर्थमन्त्रीको आग्रह

२१ कात्तिक, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बीमा व्यवसायीहरूसँग आग्रह गर्नुभएको छ ।नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो । उहाँले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय विमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध गर्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

“आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिकरूपमा नै पतित भएको भन्दै उहाँले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो । उहाँले स्वार्थको द्वन्द्व हुने गरी व्यवसाय नगर्न पनि सम्बद्ध सबैमा आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार २१:०७