२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

क. किरण र विप्लव माथि केही यक्ष प्रश्न 

–डा रामकुमार अधिकारी

१. अवको राज्य व्यवस्थामा बहुदलीय प्रतिस्पर्धाको परिपाटी स्थापना हुनु पर्दछ र यो वर्तमान नेपालको वस्तुगत परिस्थितिको अनिवार्य प्रतिविम्व हो भन्ने कुरालाई क. किरण–बिप्लव सिद्धान्ततः स्वीकार गर्नुहुन्न । क. किरण–बिप्लव नयाँ जनवादलाई एउटा पार्टीको एकलौटी अधिपत्य भएका, नीजि सम्पत्ति नभएको एक दलीय शासन पद्धतिको रुपमा बुझ्ने र त्यसलाई नेपालमा लागू गर्न जनविद्रोह, शसस्त्र जनयुद्ध अझै पनि आवश्यक छ भन्ने अडान राख्नु हुन्छ । क. किरण–बिप्लवले बहुलवादको अवस्यम्भावी बैज्ञानिक आधारलाई आत्मासात गर्नु भएकोे छैन । माक्र्सवादिहरु पदार्थबाट चेतना, विचार ईत्यादी जन्मने कुरामा विश्वास गर्छन् ।

डा रामकुमार अधिकारी

भौतिक, रासायनिक, जैविक पदार्थका जुनसुकै रुपमा पनि तत्व, यौगिक हुन्छन् । तत्वका सबभन्दा साना कणलाई ‘एटम’ भनिन्छ । एटमभित्र भिन्न गुण भएका ‘बहु’ सुक्ष्म कणहरु हुन्छन् । पदार्थको स्वरुप, गुण, बनावटमा निरन्तर परिवर्तन भईरहन्छ किन कि पदार्थ बन्ने ‘एटम’ बाट अल्फा, गामा, बेटा किरणहरु अविच्छिन्न रुपले निस्किरहेका हुन्छन् । यसरी पदार्थको आधारभूत संरचना नै परिर्वतन भईरहन्छ भने चेतना, विचार स्वतः परिर्वतन भईरहन्छ। मानिसको शरिरको आधारभूत संरचना कोष हो । कोष भित्रका प्रोटिन हरेक मानिसमा केही न केही रुपमा फरक छन । तसर्थ संसारका ६ अरवभन्दा बढि मानिस उस्तै कोही पनि छैनन् । विश्वमा प्रत्येक मानिसको वनावट र क्रियाको एकाईमा नै केही न केही फरक हुन्छ भने मान्छेमा विचार, चेतना र रुचि, दृष्टिकोण, क्रियाकलाप ईत्यादि फरक हुन्छन् ।

तसर्थ एउटै वर्गमा पनि धेरै राजनैतिक पार्टीहरु जन्मन्छन् । फरक संगठन खोल्नु, फरक दृष्टिकोण हुनु विज्ञान सम्मत सत्य छ । विज्ञानको एक आधारभूत चरित्र निरन्तर विकास भई रहुनु हो । माक्र्सवाद एक विज्ञान हो । विज्ञानको शुत्र परिवर्तनशिल छ र विज्ञान पनि पूर्ण हुँदैन । तसर्थ माक्र्सवाद पनि पूर्ण छैन र अनुलङ्घनीय पनि छैन । विज्ञान आफ्नो गतिमा विकास भईरहेको छ भने माक्र्सवाद वा कुनै पनि वाद आफ्नो गतिमा विकास र परिवर्तन भई रहन्छ । आधार संरचनावाट उपरिसंरचना वन्ने हुनाले प्रत्येक मानिसको विचार, चेतना, रुची , दृष्टिकोण, क्रियाकलाप फरक हुन्छ र त्यो कुरा समय क्रममा एक वंशवाट अर्को वंशमा सर्दै जाँदा अझ फरक हुँदै जान्छ र नयाँ रुप, नयाँ विचारको जन्म हुन्छ । चाल्र्स डार्वीनको यहि तथ्यलाई समर्थन गर्दै कार्लमाक्र्सले अनेकौ समाजशास्त्रका सिद्धान्तहरुको विकास गरे । पदार्थ परिवर्तनशिल भए पछि माक्र्सवाद अनुसार परिस्थिती, समय स्वतः परिवर्तनशिल छ ।

कार्ल माक्र्सको वेलाको उत्पादन, वितरण, बिनियम र उपभोग अहिले फरक भइ सकेको छ । संशोधनवाद भनेर भन्नु बेकार छ किनकी संशोधन, विकास त विज्ञान सम्बत कुरा हुन् । माक्र्सवाद गतिशिल छ, गति हुनु नै माक्र्सवाद हो । समाज भनेको निरन्तर विकास भई रहन्छ र जटिलता पनि बढ्दै जान्छ । यो सास्वतः सत्य जडसुत्रवादको खिलापमा छ । तसर्थ अरुलाई निषेध गर्न खोज्नु, एकछत्र शासन चलाउन खोज्नु विज्ञान सम्मत छैन । तसर्थ कुनै पनि नाममा एकदलीय ब्यवस्था संचालन गर्नु विज्ञानसम्मत हुँदैन । चाहे सर्वहाराको नाममा, कम्युनिष्टको नाममा, राजतन्त्रको नाममा, संस्कृतिको नाममा, परम्पराको नाममा कसैले एकदलीय शासन ब्यवस्था टिकाउन सक्दैन । नेकपा(माओवादी)ले चुनवाङ बैठकबाट पहिलो पटक बहुलता स्वीकार गरेको हो भने नेकपा(एमाले)ले २०४९ सालमा नै जननेता स्व.क.मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलिय जनवादबाट बहुलवादलाई अङ्गिकार गरेको हो ।

संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथक्कीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलिय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, कानूनको शासन ईत्यादि मानव जातिले समाज विकास क्रममा आर्जन गरेका जिवन्त र मुल्यवान उपलब्धिहरुलाई पूँजीवादका मात्र नीजि सम्पत्ति होईनन् र राम्रा सिद्धान्त, विधि सबैले उपयोग गर्नु पर्दछ भन्ने कुरालाई क. किरण–बिप्लव संसदवाद वा संसोधनवाद वा अवसरवाद वा पलायनवाद वा सारसंग्रहवाद वा आत्मसमर्पणवाद वा अन्तरघात ठान्नु हुन्छ र निषेधात्मक रुपले हेर्नुहुन्छ । यि जिवन्त र मुल्यवान उपलब्धिहरु सहितको संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था अँगालेर देशलाई विकसित, संवृद्ध वनाउन पट्टी लाग्नु पर्ने वेलामा किरण–बिप्लव फेरी जनयुद्धको जगमा जनविद्रोह वा विद्रोहात्मक धक्का जस्ता कार्यदिशा अंगालेर अस्थिरता मच्चाई शान्तिकामी नेपाली जनतालाई भ्रम छर्ने काम गरी रहनु भएको छ । द्वन्दवादको अनिवार्यता र सर्वव्यापकतालाई सिद्धान्ततः स्वीकार गर्ने तर व्यवहारिकता बहुलवादलाई स्वीकार नगर्ने आधार के हो ? यो प्रश्नको उत्तर क. किरण–बिप्लवले दिनु पर्छ ।

२. संविधानको कार्यान्वयनसंगै नयाँ युगमा प्रवेशसंगै नेपालमा शान्ति र स्थिरता आयो भनिएको छ तर किरण–बिप्लवको स्कुलिङले नेपालको कम्युनिष्ट आन्दोलनमा जडसूत्रवाद र उग्रवामपन्थी धारको प्रतिनिधित्व गर्दछ । सृजनात्मकता, सुझाब भन्दा विरोधको मुद्दालाई सजिलै समर्थन गर्ने, तर यथार्थ धरातलमा टेकेर भविष्यको उपयुक्त विकल्पको छनौट नगर्ने, विरोधको राजनीतिले बढी महत्व पाउने, परिवर्तन छिटो हुन्छ, विकास छिटो हुन्छ भन्ने निम्न पूँजीवादी चिन्तन भएको नेपाली समाजमा अझै क्रान्तिकारी रोमाञ्चकता बाँकी छ । बेपत्ता, शहिदका परिवारजन, घाईते एवं अपाङ्ग योद्धाहरुले उग्रनारा पूनः सुन्ने छन् र क्रान्तिकारी रोमाञ्चकताको कारणले किरण–बिप्लव प्रवृत्तिको बृद्धि र विकास त हुने नै छ । तर दक्षिण एशियाको सामरिक, राजनीतिक, आर्थिक र समाज रचनाले अन्तरविरोध र क्रान्तिका स्वरुपमा ठूलो प्रभाव पार्नुकासाथै प्रधान रुपमा आन्तरिक कारणले उक्त उग्र विचार अवशेषमा परिणत हुने निश्चित प्रायः छ ।

केही समयपछि जनताले नयाँ बस्तुप्रति आकर्षण बढाउलान् तर ढिलो, चाडो किरण–बिप्लवले एमाले र माओवादी केन्द्रको निति नमानेर सुखै छैन । कुनै दिन यी पंक्ति सत्यतामा परिणत हुने छन् । तसर्थ सिद्धान्तको दियो बाल्नु पर्छ भन्ने विचारले सिद्धान्तको रक्षा गर्न सक्दैन । किरण–बिप्लवको समूहहरु सिद्धान्तको रक्षा गर्ने नाममा हिंसाको राजनीतिलाई, कब्जाको राजनीतिलाई निरन्तरता दिन चाहन्छन् । सिद्धान्त जीवनको लागि हो, जीवन सिद्धान्तको लागि होईन भन्ने स्व.क.मदन भण्डारीको उक्ति यहाँ सान्दर्भिक छ । रिस, ईष्र्या, डाह, द्वेष, आक्रोस, प्रतिशोध, बदला लिएर आत्मसन्तुष्टी लिने प्रवृत्तिको कारणले किरण–बिप्लव पथ जन्मने छ । फेरी सुरुङ युद्धको नाममा खाल्डा र दुलाहरु खनिने काम हुन सक्छ । धक्का, क्रमभङ्ग, छलाङ्ग, महाविपत्तीको श्रीजना, आफ्नो टाउकोमा आगो लगाउने, दक्षिण एशियन सोवियत फेडेरेसन, ढाडमा टेकेर टाउकोमा हान्ने जस्ता शब्दहरु सुनिने दिन आउन सक्छ ।

उग्रता, जडता, अन्धानुकरण, शैक्षिक क्षेत्रको बन्द, चन्दा, धम्की, हड्ताल, अराजकता हुँदै जादा हत्या, अपराध, आतंक शुरु हुन सक्छ । यसो हुँदै जाने हो भने कुनै दिन मानव जातिले “क्रान्ति” भन्ने शब्दलाई घृणा गर्ने दिन आउन सक्छ । फिलिपिन्समा जनताले नै जनसेनालाई सखाप पारेको यथार्थता विर्सन हुँदैन । उग्रवामपन्थ एक विचारको रुपमा अवशेषको रुपमा मात्र रहन सक्छ । उग्रवामपन्थी प्रवृत्तिको भविष्य के हो ? जनविद्रोहको स्पष्ट रणनीति र कार्यनीति के के हुन ? यी प्रश्नको उत्तर क. किरण–बिप्लवले दिनु पर्छ ।

३. किरण–बिप्लव पथ र एमाले–माओवादी केन्द्रको नितिमा के फरक छ त भन्दा किरण–बिप्लवपथले जमिन, पूँजी र संगठन जस्ता उत्पादनका साधनमा पूर्ण रुपमा राज्यको स्वामित्व हुने, सबै राज्यको लगानी, मजदूर र किसानको राज्य, सवैलाई रोजगारी, श्रमबाट आर्जित आम्दानी राज्यको ढुकुटीमा संचित रहने, राज्यबाटै सम्पुर्ण रुपमा वितरण हुने हुँदा सम्पूर्ण रुपमा समानता हुने, सर्वहाराको अधिनायकत्व हुने राज्य व्यवस्था स्थापना गर्न माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मूल मार्ग दर्शक सिद्धान्त मानि दीर्धकालिन सम्झौताहिन सशश्त्र वर्ग संधर्ष वा जनयुद्धबाट जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादमा जाने ।

एमाले–माओवादी केन्द्र (अब बन्न गई रहेको नेपाल कम्युनिष्ट पार्टि) ले नेपालको संविधान अनुसार लोकतान्त्रिक समाजवादको बाटो जो पूँजीवाद–उदारवाद वा नवउदारवाद भन्दा फरक अर्थात श्रम, जमिन, पूँजी र संगठन जस्ता उत्पादनका साधनमा निजी र राज्यको स्वामित्व हुने, निजी र राज्यको लगानी, मिश्रित बजार, लोककल्याणकारी वितरण प्रणाली, रोजगारीको व्यापक वृद्धि, सामाजिक सुरक्षाको माध्यम र प्रगतिशिल कर प्रणाली आर्थिक समानता सहितको वर्ग समन्वयमा आधारित समृद्ध समाजवादी राज्य व्यवस्था स्थापना गर्ने हो । अव बन्न गई रहेको नोपल कम्युनिष्ट पार्टी ले किरण–बिप्लव नीतिलाई आसान्धर्भिक भन्दै उक्त नीतिले देश बर्बादिको खाडलमा जाने भएकोले वहाँहरुलाई पनि पार्टी एकतामा आउन आव्हान गरेको छ ।

हामी सुत्र घोक्दैनौं बरु नयाँ सुत्रहरु बनाउछौं भन्ने ओली–प्रचण्डको बिचारको साथमा आउन आव्हान गरेको छ । यो किन सम्भब हुन्न ? धेरै असमानता, शोषण, उत्पिडनालाई आवश्यक कानुन बनाएर सम्वोधन गर्न सकिन्छ भने किन सशस्त्र जनविद्रोह, हत्या, हिंसाको जरुरी प¥यो ? जनतालाई बुर्जुवा शिक्षा वहिस्कार भनि गरिव, निमुखालाई युद्धमा होमेर निरक्षर, नालायक वनाउने र पुनः शहिदको खेती गर्ने ? व्यक्तिवादी संकीर्ण महत्वकांक्षा यसका मुख्य कारण हुन कि हैनन ? शक्ति आर्जन गरी बार्गेनिङ्ग क्षमता बढाएर एकता प्रकृयामा आउने बिचार हो भने समय धेरै ढिला भईसकेको हुनेछ ।

४. जुन देशमा ४० लाखभन्दा वढि जनता स्वदेशमा रोजगारीको अभावले विदेशमा कष्टकर काम गरी रहेको छन् । मुलुकको आर्थिक–सामाजिक विकास सूचाङ्कहरु लज्जाजनक छन् । सारा विश्व १७ वटा दिगो विकास लक्ष्यहरु र १६९ रणनितिहरु सन् २०३० सम्ममा पुरा गर्न दिलो ज्यान दिएर लागेका छन् । नेपालमा ठुला ठुला उद्योगहरु स्थापना हुन नदिने, लगानी मैत्री वातावरण हुन नदिने, नेपालीलाई गरीबै देख्न चाहने, नेपाललाई आफ्नो बजार बनाई राख्न चाहना राख्ने शक्तिहरुले पुनः नेपालमा अस्थिरता छाओस भनेर प्रार्थना गरी रहेको छन । तिनिहरु नेपालको आर्थिक अवस्थालाई ध्वस्त पार्ने, नेपाललाई परनिर्भर बनाई राख्ने अत्यन्त उज्वल भविष्य भएको, संसारलाई उदाहरण भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई निमिट्यान्न पार्न चाहन्छन । माफियाहरु दोहोरो हतियार बेच्न चाहन्छन । ति शक्तिहरु पूनः जनयुद्धलाई मलजल गर्न आतुर छन र हुनेछन् ।

युरोपियन युनियनको चुनाव पर्यवेक्षणको प्रतिवेदनको नाममा होस् वा अन्य नाममा नेपाली गरीब हुन् हामीले जे गरेपनि जे भनेपनि हुन्छ भनेर सार्वभौम नेपालीलाई अपमान गरिरहेका छन् । युरोप, अष्ट्रेलिया, अमेरिका जाँदा यी नेपाली गरीब छन्, यहीँ लुक्छन्, फर्कन्नन् भनेर एयरपोर्टमा हामी नेपालीलाई अपमान गर्छन् । दोश्रो विश्वयुद्धमा ध्वस्त भएको जापानी जनताले २४ घण्टामा १८ घण्टा काम गरेर संसारलाई जापानी को हुन भनी देखाई दिए जस्तै ३ करोड नेपाली मिलेर २ दशकमा युरोपको सबैभन्दा विकसित मुलुकलाई हामी उछिन्ने कसम खाएर हामीले नेपाललाई स्वाधिन, अग्रगामी, समृद्ध मुलुक बनाएर नेपाली जनतालाई विश्वका विकसित मुलुकका नागरिक सरह बनाएर संसारलाई देखाईदिन समृद्धिको युद्ध लड्नु पर्ने बेलामा चन्दा आतंक, बन्द, हड्ताल, अराजकता सृजना गरी कसलाई फाईदा पुगेको छ ? नेपालमा फेरी जनयुद्ध शुरु भएमा नेपालमा कोही युवा बस्ने छैनन् ।

कसैले नेपालमा लगानी गर्ने छैन र हामी नेपालीको शिर कहिल्यै ठाडो हुने छैन । नेपाली श्रमजिवी जनताको हृदयमा एक गहनतम पिडा शुरु हुनेछ । लेनिनका अनुसार कम्युनिष्टलाई समस्त पूँजीवादी, उदारवादी विश्वले ठूलो शत्रुता र घृणा दर्शाउँछ र कम्युनिष्टलाई एक प्रकारको अहितकर सम्प्रदायको रुपमा हेरिन्छ । तर अब विश्वले नेपालको अवस्था हेरेर पूनर्विचार गर्नेछ । यस कुरामा सत्यता छ कि छैन ? यो यक्ष प्रश्नको उत्तर क. किरण–विप्लवले दिनु पर्छ ।

५. यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, सौहार्दता, शिष्टता र कम्प्रोमाइजको युग हो । कुनै पनि देशमा इतिहासको खास खास काल खण्डमा खास खास व्यक्तिहरुको ऐतिहासिक भूमिका हुने गर्छ, नेपालमा कम्युनिष्ट पार्टिहरु एकिकरण गर्ने नेताहरुको नाम नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । तसर्थ बाम गठबन्धनले हार्दिकतापूर्वक किरण–विप्लव माओवादीलाई वार्ताको लागि अनुरोध गर्नुपर्छ र यो अवसरमा विप्लव र किरण माओवादी समूहलाई पनि एकिकरण प्रक्रियामा जसरी पनि ल्याउनै पर्छ । प्रभावकारी संचारले जस्तोसुकै कुरा मिलाउन सकिन्छ । विप्लव र किरणले पनि इतिहास रच्ने मौका गुमाउन हुन्न ।

विश्वका मानिसहरुको आँखा त्यसपछि नेपालको एकिकृत कम्युनिष्ट पार्टीतिर हुनेछ । कुनै हालतमा पनि विप्लव र किरणसँगको वार्ता सफल पार्नु पर्छ । अब चाँडै हुने एकिकरण घोषणा सभामा किरण–विप्लव पनि उपस्थित हुनै पर्छ । यो वामगठबन्धनको ठूलो सफलता हुनेछ । संसारका कम्युनिष्टहरु खुसीले गद्गद् हुनेछन । युवा कार्यकर्तामा सयौं गुणा जाँगर पलाउनेछ । यो एकता, उल्लास, उमङ्ग र शक्तिको श्रोत हुनेछ । कम्युनिष्टहरुले विगतलाई कोट्याउनु भन्दा सुन्दर भविष्यको निर्माण गर्नु पर्छ ।

डा. अधिकारी धादिङ्ग २ (१) बाट निर्वाचित सांसद हुन् ।

Email: [email protected]

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १३:३५