१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बालाजु र महाराजगञ्ज चोकमा पनि अण्डर पास

३० असोज, काठमाडाैँ । चिनियाँ सहयोगमा विस्तार भैरहेको चक्रपथको कलङ्की–महाराजगञ्ज सडकमा २ वटा ‘अण्डर पास’ बन्ने भएको छ । बालाजु र महाराजगञ्ज चोकमा पनि कलंकीको जस्तै अण्डरपास बन्ने भएको हो । सडक विभागले बताए अनुसार बालाजु चोक र महाराजगञ्ज चोकमा गरी दुई स्थानमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकमा कलङ्की चोकमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको छ । बालाजुमा निर्माण हुने ‘अण्डरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ ।

पहिलो चरणको विस्तार (कोटेश्वर–कलङ्की) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताएका छन ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएको गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।’ यस सडकमा रुख काट्ने, पोल सार्नेलगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै छ महीना तयारीको काम गरेर निर्माण सुरु गरिने भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार ०८:४४