१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

तनहुँका छ स्थानमा पाँच वर्षका लागि निःशुुल्क वाइफाई

१५ असोज, काठमाडाैँ । तनहुँको सदरमुकाम दमौलीको विभिन्न छ स्थानमा निःशुुल्क वाइफाईको सुविधा उपलब्ध हुने भएको छ । व्यास नगरपालिकाका तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिङ्क कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सो सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार ती स्थानमा उपकरणसहित पाँच वर्षका लागि वल्डलिङ्कले निःशुल्क वाइफाईको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नगरप्रमुख न्यौपानेले नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने योजनाअनुरुप प्रक्रिया अघि बढाइएको बताउनुुभयो ।

त्यस्तै कम्पनीका सिइओ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत इन्टरनेट सुविधा उपलब्ध गराइएको जानकारी दिनुुभयो । सम्झौताअनुसार व्यासनगरपालिका–३ को दुुर्गा मन्दिर क्षेत्र, देवी देउराली पुस्तकालय तथा देउरालीनगर सिकाइ केन्द्र, बिपी वनवाटिका खेलमैदान तथा पाञ्चायन मन्दिर, ज्येष्ठ नागरिक केन्द्र, दमौली अस्पताल तथा पार्क क्षेत्र, व्यानपाको पुस्तकालयमा सो सेवा उपलब्ध हुनेछ ।

त्यस्तै व्यासनगरपालिका–२ को कार्यालय र व्यासनगरपालिका–४ को वडा कार्यालय, कालिका जङ्गल पार्क क्षेत्रमा पाँच वर्षका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागिएको व्यासनगरपालिका–३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिनुुभयो । यसअघि वल्डलिङ्कमार्फत नै व्यास–३ स्थित अनसन चौतारा क्षेत्र तथा नीमचोकमा निःशुल्क वाइफाई सुविधा उपलब्ध गराइसकेको छ । रासस

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार २०:२६