१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कृषि विकास बैंक ह्याकिङ प्रकरण: थप ३ जना पक्राउ

१० असाेज, काठमाडौँ । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरी युनिटको सहयोगमा पर्वतबाट मालतीदेवी न्यौपाने र कंचनपुरबाट यज्ञराज भट्टलाई पक्राउ गरेको छ । त्यस्तै काठमाडौँकाे बसपार्कबाट पर्वतका गणेशप्रसाद बस्याललाई पक्राउ गरेको छ ।

पर्वतबाट पक्राउ परेका न्यौपानेको कृषि बिकास बैंककै पर्वत शाखामा २८ लाख र कंचनपुरबाट पक्राउ परेका भट्टको कृषि बिकास बैंक कंचनपुर शाखामा रहेको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको देखिएपछि उनिहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

प्रहरीले पर्वत र कंचनपुरबाट पक्राउ परेका दुबैजनालाई काठमाडौँ ल्याउदै गरेको प्रहरीले जनाएको छ । महाशाखाको टोलिले बिहिवार स्याङ्जाबाट पक्राउ परेका रामकृष्ण भुसालले बयानको क्रममा बस्यालको नाम पोलेपछि उनलाई काठमाडौँको बसपार्कबाट पक्राउ गरेको हो । स्याङ्जामा पक्राउ परेका भुसाल स्थानीय प्रतीक्षा निर्माण सेवाका मालिक हुन् ।

प्रहरीसंगको बयानमा उनले पर्वतका गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हाल्न लगाएको र आफुबाट पटकपटक गरि ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालिसकेको बताएपछि अपराध महाशाखाको विशेष टोलिले आज (शुक्रबार) बिहान बस्याललाई नियन्त्रणमा लिएको थियो । यसअघि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार १५:४०