१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बैंकको सफ्टवेयर ह्याकिङ प्रकरणः नुवाकोटका लवाङ तामाङ पक्राउ परेपछि यसरी खुल्यो रहस्य

८ असोज, नुवाकोट । घटना यही असोज ५ गते आइतबारको हो । बानेश्वरमा रहेको पानस रेमिटबाट केही व्यक्तिहरुले अस्वाभाविक रुपमा पैसा निकालेपछि गतिविधि शङ्कास्पद लागेर कर्मचारीले महानगरीय अपराध महाशाखामा जानकारी गराए । त्यसपछि खटिएको महाशाखाको टोलीले पैसा निकाल्दै गर्दा केही व्यक्तिलाई पक्राउ ग¥यो । उनीहरुसँग सोधपुछ गर्दा नुवाकोटका लवाङ तामाङ घटनामा संलग्न रहेको खुल्न आयो । खोजतलासका क्रममा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि थप रहस्य खुल्न पुग्यो । उनको साथबाट प्रहरीले रु ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो ।

कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरेर प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न भनियो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो, “लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो र हामीले अनुसन्धानलाई थप तीव्रता दियौँ ।”

उहाँका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाई सकिएको फेला प¥यो । त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो । सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिनुभयो ।

नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुण्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिको नाममा ह्याकरले पैसा पठाएको खुल्न आएको उहाँले जानकारी दिनुभयो । सोही प्रक्रिया चल्दै गर्दा प्रहरीले उनीहरुलाई पैसा निकाल्नुअघि नै पक्राउ गरेको थियो । “तर पनि ७० लाख भने निकालेको र रु १० लाख भने हुण्डीमार्फत विदेश पठाइसकेको फेला परेको छ अरू पैसा बरामद भएको छ”, महाशाखा प्रमुख थापाले भन्नुभयो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौँ तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, झक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रकम रु चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ । यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डीमार्फत पुनः भारत भारत लैजाने गरेको समेत खुल्न आएको छ ।

पिटरले नेपालका एजेन्टहरूलाई नबिल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट रु पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार २१:१०