१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

व्यवसायीलाई निराश नभई उत्साहित हुन अर्थमन्त्री डा युवराज खतिवडाको आग्रह

४ असोज, कास्की । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उहाँले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताउनुभयो । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताउनुभयो ।

अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गर्नुभयो । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उहाँको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । मुलुक अस्थिरताबाट दिगो विकासको बाटोमा हिँडेकाले अब सकारात्क नतिजा आउने उहाँको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रका समस्यामा सरकार गम्भीर हुन नसकेको भन्दै व्यवसायीमैत्री वातावरणमा जोड दिन आग्रह गर्नुभयो । सो अवसरमा सङ्घले आर्थिक पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार भरत कोइरालालाई सम्मान गरेको छ । रासस

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार २२:००