१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने उद्देश्यसहितको कर्णाली प्रदेशको नीति पारित

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४÷०७५ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम ३५ बमोजिम प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको बाह्रौं बैठकले सर्वसम्मत पारित गरेको हो ।

नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत, जडिबुटी, कृषि, यातायात, शिक्षा, वन, खनिज पदार्थ र सामाजिक सुरक्षा तथा न्यायलाई बढी जोड दिँदै प्रदेशको समृद्धि, विकास र परिवर्तनका लागि विशेष खालका नारा अघि सारेको छ ।

प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उद्देश्य प्रदेशले लिएको छ । प्रदेशको समग्र विकास र समृद्धिको गुरूयोजना बनाउन प्रदेश सरकारले विज्ञहरूको टोली बनाउने छ ।

‘एक पालिका एक घरेलु उद्योग’को नीतिअनुसार स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिनेछ ।

पेट्रोलियम पदार्थको अध्ययन, अन्वेषण र अनुसन्धान गरी उपयोगका लागि आवश्यक योजना बनाउने नीति पनि प्रदेश सरकारले लिएको छ । नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति तथा कार्यक्रम परम्परागत भएको बताउँदै कर्णालीको माटो र नागरिक सुहाउँदो नीति कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारका प्रवक्ता विमला केसीले नीति तथा कार्यक्रममा टेकेर तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजना निर्माण गरिने बताए ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार १९:४३