करारमा शिक्षक नियुक्त हुन प्रधानाध्यापक नै १ लाख मागेपछि…
२८ भदौ, बीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेहवा प्रसौनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसहित ५ जना पक्राउ परेका छन । करारमा शिक्षक नियुक्तिका लागि मागिएको १ लाख घुससहित प्रधानाध्यापक कापरसहित ५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोयको टोलीले शुक्रवार पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार प्रधानाध्यापक कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यबस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले १ लाख रुपैया घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित चियापसलबाट शुक्रवार घुसरकम सहित रङ्गेहात नियन्त्रणमा लिइएको कोइरालाले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १३:०५