१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

आर्थिक वृद्धि र प्रशासनिक काममा सरकारले ईतिहासमै फड्को मार्योः मन्त्री पण्डित

१५ भदौ, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर ईतिहाँसमा फड्को मारेको सुनाए ।

त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए ।

उनले भने,‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन । यसको लागि समय लाग्छ । रातारात सबै काम हुँदैन् । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित् हुँदैन्।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए । उनले थपे,‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानून बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’

उनकाअनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् । मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको ईतिहाँस नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’

उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । उनले भने,‘आवश्यकत्तालाई ध्यानमा राखेर हामी अघि बढ्छौं ।’ स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । उनले मानव संशाधनको व्यवस्थापन गर्नेतर्फ पनि सरकार सचेत रहेको सुनाए । उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए ।

पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए । उनले भने,‘अहिले कहीँ कतैबाट पनि अवरोध र रुकावट छैन् । तीनै तह मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरि तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ । उनले अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सक्रिय रुपमा काम गरेको अवस्था सुनाए ।

उनले भने,‘अख्तियारले अहिले सक्रिय भएर काम गरेको अवस्था छ । अख्तियारको थुनुवा कोठा अहिले सबै भरिभराउ छन् । सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको छ । दोषी जो भएपनि सरकार कारबाही गर्न पछि हट्दैन् ।’ उनले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने,‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन् ।

हामी छलफलकै क्रममा छौं ।’ उनले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुसार आएकोले यसबारेमा अफवाह फैलाउन नहुने जिकिर गरे । उनले भने,‘आरक्षण र समावेशीको कुरा हटाएका छैनौं ।’ फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुशन्धान गरिरहेको सुनाए । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’

सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाई छ । उनले भने,‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुशन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १३:३४