१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

यती एयरलायन्सले २ हजार ५ सयमा भरतपुर–पोखरा उडान गर्ने

१२ भदौ, चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।

एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उहाँले जानकारी दिनुभयो । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो ।

पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिनुभयो । भरतपुर–पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर–काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १८:३०