१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

विदुरका मेयर पण्डितविरुद्ध पिपिएलएको भेला, रोकियो कानुनी सल्लाहकारको नियुक्ती


–दुर्गा पुडासैनी

७ फागुन, काठमाडौँ । स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेमा अवसरसँगै असन्तुष्टिहरु पनि बढेको छ । पार्टीले नेतृत्व लिएको स्थानीय तहमा सिर्जना हुने अवसरहरुमा पार्टी निकटका व्यक्तिहरु जान खोज्नुलाई हाम्रो समाजमा स्वभाविक मानिन्छ । जसले गर्दा राजनीतिक दलहरुले विद्यार्थी संगठनदेखि पेशागत भ्रातृ संस्थाहरु समेत गठन गरेर परिचालन समेत गरिरहेका छन । समग्रमा पार्टी र त्यसको मुल नेतृत्वलाई सफल तुल्याउनका निम्ति पार्टीका भ्रातृ र शुभेच्छुक संगठनहरुको भूमिका तत् ठाउँमा महत्वपूर्ण हुन्छ र मानिन्छ पनि । केन्द्रदेखि पार्टीको स्थानीय कमिटीसम्मले त्यस्ता संगठन र संस्थाहरुसँग सरोकारका विषयमा सल्लाह लिने र सहकार्य गर्ने गरेका हुन्छन । यद्यपी सबैभन्दा संगठित र व्यवस्थित भनिएको नेकपा एमालेमा पनि भनिने र गरिने कुरा फरक देखिने गरेको छ ।

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा एमालेका तर्फबाट विजयी सञ्जु पण्डितले माओवादी केन्द्र समर्थित व्यवसायीलाई नगरपालिकामा नियुक्ति गरेपछि यसको चर्को बिरोध भएको छ । बिरोधले नियुक्ति स्थगित समेत भएको छ । तर नगर कार्यपालिकाको बैठकमा नेपालको नियुक्तिको प्रस्ताव मेयर मण्डितले गरे पनि त्यो पारित नभएको स्वयं पण्डितले पार्टीका नेताहरुलाई बताएका छन । चर्को दबाबपछि पण्डितले नियुक्ति रोकेपनि उनी पुन नेपाललाई कानुनी सल्लाहकार बनाउने अन्य उपायको खोजीमा लागेछन । यता काठमाडौँमा पिपिएलए नुवाकोटले जिल्लाका दुई प्रदेश सांसद केशव पाण्डे र बद्री मैनालीका साथै केन्द्रीय सचिवद्धय डिल्ली मैनाली र बिबी राईको उपस्थितिमा विशेष भेला आयोजना गरेर मेयरको कदमप्रति खेद प्रकट गरेको छ ।

भेलामा पिपिएलए नुवाकोटका अध्यक्ष देवराज कडेँलले पार्टीले पिपिएलएलाई कमजोर ठानेर अपमानित गरेको बताए । उनले जिल्लाको पार्टी अध्यक्ष र नगरपालिकाको मेयरको संलग्तामा माओवादीका कानुन व्यवासायीलाई कानुनी सल्लाहकार बनाउन खोजिनु खेदजनक भएको बताए । काठमाडौँको एउटा ल फर्ममा कानुनी सल्लाहकारको नियुक्ति पत्र तयार भएको थाहा पाएर आफू काठमाडौँ आएर भेला डाकेको बताउँदै उनले विदुर नगरपालिकाको कानुनी सल्लाहकारमा नेपाललाई नियुक्त गर्ने कुरामा गम्भीर असहमति र आपत्ति रहेको बताए । पिपिएलए नुवाकोटका संस्थापक अध्यक्ष गणेश खनालले आफूले मेयरसँग कुरा गर्दा नुवाकोटमा एमाले निकट कानुन व्यवसायी नभएको र भएकाहरुको दक्षता नभएकाले माओवादी समर्थक कानुन व्यवासायीलाई नियुक्त दिएको बताएको जानकारी गराएका थिए । खनालले पार्टीको अध्यक्ष र सचिवको सहमतिमै मेयरले यस्तो जोखिम उठाएको आरोप लगाए ।

अर्को कार्यक्रममा जानका लागि हतारो भयो भन्दै बिचैमा बेलका पार्टीका उपाध्यक्ष समेत रहेका प्रदेश नम्बर तीनका सांसद बद्री मैनालीले पार्टी अपारदर्शी ढंगबाट चलिरहेको भन्दै असन्तुष्टि पोखे । उनले पार्टी अध्यक्षलाई महत्वपूर्ण विषयहरुमा सचेत गराउँदा समेत वेवास्त गरेको बताए । उनले पार्टी विगतदेखि नै संस्थागत ढंगले नचलेको भन्दै नियुक्तिहरुमा मापदण्ड तोकेर सिफारिस गर्नुपर्ने बताए । उनले पिपिएलएका सदस्यलाई अयोग्य भनेको विषयमा मेयर पण्डितले माफी माग्नु पर्ने समेत बताए । साथै आगामी जिल्ला कमिटीको बैठकमा पार्टीका बारेमा उठेका विषय प्रस्सतु गर्ने बताए ।

भेलामा नोटरी पब्लिकका अध्यक्ष समेत रहेका पिपिएलए नुवाकोटका संरक्षक बसन्त बस्नेतले पिपिएलए माथि मेयरको टिप्पणी खेदजनक भएको भन्दै खेदप्रस्ताव पारित गरेर पार्टीलाई ध्यानाकर्ष गराउनुपर्ने बताए । उनले विगतदेखि नै नुवाकोटमा पिपिएलएले पार्टीका लागि भोको पेटले समेत सहयोग गरेको भन्दै अवसर आउँदा माओवादीका कानुन व्यवसायी खोज्ने मेयरको नियत के हो भनि प्रश्न गरे । उनले यस विषयमा पार्टीले ठोस धारणा समेत तय गर्नुपर्ने बताए ।

भोलामा सहभागी पिपिएलएका केन्द्रीय सचिव बिबी राईले मेयरले खोजको योग्यता पिपिएलएका सदस्यहरुमा नरहेको भन्दै व्यंग्य गरे । उनले भने ‘कानुनी छिद्रताको उपयोग गर्दै कमाउने धन्दामा सक्रिय हुन पिपिएलएका सदस्य सक्षम छैनन् । हाम्रा सदस्यहरु त राम्रा काममात्रै गर्छन र कानुन अनुसार काम गर्नमात्र सल्लाह दिन्छन ।’ पिपिएलका अर्का सचिव डिल्ली मैनालीले अन्य जिल्लामा पनि पार्टी र पिपिएलएको दूरी बढेको भन्दै केन्द्रीय कमिटीको बैठक बसेर परिपत्र गर्ने तयारी गरिएको बताए । उनले अन्य जिल्लाको भन्दा नुवाकोटमा अलि बढीनै समस्या रहेको आफूले पाएको भन्दै जनप्रतिनिधिले यस विषयमा विचार गर्नुपर्ने बताए ।

भेलाको अन्त्यमा सांसद समेत रहेका एमाले नेता केशव पाण्डेले पार्टी भित्रको विवाद आन्तरिक रुपमा मिलाउनुपर्ने भन्दै कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले विदुर नगरपालिकाको कानुनी सल्लाहकार नियुक्तिको विषयमा आफूले मेयरसँग कुरा गरेको भन्दै नियुक्ति प्रक्रिया रोकिएको जानकारी आएको बताए । भेलामा प्रगतिशिल लेखकसंघका महासचिव आरएम डंगोल, एमाले नुवाकोटका पूर्णलाल श्रेष्ठ, सुमन पाठक, पिपिएलए नुवाकोटका कुमार अधिकारी लगायतले पिपिएलएलाई अपमान गर्नेकुरा राम्रो नभएको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १२:५५