३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

राजपाको चियापानः कांग्रेस सभापति देउवा र भारतीय राजदूत मुख्य अाकर्षण

७ बैशाख, काठमाडाैँ ।  राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आज यहाँ शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल, संघीय समाजवादी फोरम नेपालका नेता डा शिवजी यादव तथा प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपालका लागि भारतीय राजदूत डा मन्जिभसिंह पुरी, नेपालका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि भ्यालेरी जुलियाण्ड, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगी, व्यवसायी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी हुनुभयो ।

मुलुकको चौथो ठूलो राजनीतिक दल राजपाको छ सदस्यीय अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव हुनुहुन्छ । तराई–मधेश केन्द्रित राजनीतिक दलबीच २०७४ साल वैशाख ७ गते एकीकरण भएसँगै राजपा गठन भएको हो । राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई सांसदको प्रतिनिधित्व छ ।

प्रदेशसभातर्फ राजपाका प्रदेश नं २ मा २५, प्रदेश नं ५ मा एक तथा प्रदेश नं ७ मा दुई सदस्यले प्रतिनिधित्व गर्दै आउनुभएको छ । स्थानीय तहमा २५ प्रमुख एवम् अध्यक्ष तथा ३१ उपप्रमुख एवम् उपाध्यक्ष निर्वाचित भएको राजपाको हाल झण्डै डेढ लाख क्रियाशील सदस्य रहेको महासचिव केशव झाले जानकारी दिनुभयो । मुलुकका ३० जिल्लामा संगठन रहेको राजपाका ८१३ केन्द्रीय सदस्य र १३३ पदाधिकारी रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार २०:४२