स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयकाे आग्रह
२७ साउन, काठमडाैँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन अनुरोध गरिएको जानकारी गराउनुभयो ।
काठमाडौँका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लो पटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभई शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । “तीज चाँडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ । माइती र चेलीलाई मात्र नभएर सिङ्गो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता विकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख छ ।
प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको चीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ । केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति बिर्सदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ । हिन्दू महिलाले सदियौँदेखि मनाउँदै आएको हरि तालिका तीज यसवर्ष आगामी भदौ १६ गते परेको छ ।
प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १८:४५