१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

५ दिन सम्म विद्यालय बन्द हुने

२१ साउन, बलेवा । वर्र्षासँगै आएको पहिराले विद्यालय भवन जोखिममा परेपछि बागलुङको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको जनता प्राथमिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको हो ।

विद्यालयमा तीनवटै भवन पहिराको उच्च जोखिममा रहेकाले सम्भावित दुर्घटना हुन नदिन विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताउनुभयो । विद्यालय आफैँले गर्न पाउने स्थानीय बिदामा कटौती हुने गरी तत्कालका लागि पाँच दिन विद्यालय बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय भवन तलको जमीन बगिरहेको छ भने विद्यालयमाथिबाट समेत पहिरो झरिरहेकाले विद्यालय बन्द गर्नुपरेको छन्त्यालले जानकारी दिनुभयो । गत आवमा विद्यालयको भवनलाई फन्को मारेर निर्माण गरिएको राङ्खानी–बरेङ सडकका कारण पहिराको जोखिममा विद्यालय परेको हो ।

कच्ची सडक निर्माणका क्रममा थुपारिएको ढुङ्गा माटो पानीसँगै बगेर विद्यालय भवनतर्फ आइरहेकाले जुनसुकै बेला भवन पुरिन सक्ने उहाँले बताउनुभयो । दुई कोठा रहेका दुई भवन र तीन कोठा रहेको अर्को एक भवन पहिराको जोखिममा छन् । दुईकोठे कच्ची ट्रष्ट भवन यसै वर्ष मात्रै निर्माण गरिएका हुन् ।

विद्यालयका सबै भवन पहिराको जोखिममा परेपछि विद्यालयले विकल्पको खोजी गरिरहेको छ । “नजिकै रहेको सामुदायिक भवनको प्रयोग गरेरै भए पनि पढाइ चलाऔँ भन्ने लागेको छ तर सबै कक्षाका विद्यार्थी अट्दैनन्”, उहाँले भन्नुभयो “उपयुक्त विकल्प नपाउने हो र वर्र्षा रोकिएन भने थप केही दिन विद्यालय खोल्न सक्ने अवस्था छैन ।”

पहिरोका कारण विद्यालय आउने जाने गोरेटासमेत भासिएका छ । पैदलै विद्यालय जाने विद्यार्थीका लागि बाटोसमेत नरहेकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक कृष्णा श्रीसले बताउनुभयो । गत वर्ष विद्यालयका तीन वटा भवनमध्ये एउटा भवन पहिराले पुरेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा दुई कोठे ट्रष्ट निर्माण भएको थियो । विद्यालयमा ४२ जना विद्यार्थीलाई पाँच जना शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार १८:३४