३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रसुवागढी नाकामा सीसीटीभी जडान, अवैध क्रियाकलाप रोकिने आशा

३ वैशाख, रसुवा । नाकामा हुन अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीमा व्यापारिक कारोबारमा बृद्धि हुँदै जाँदा अवैध क्रियाकलाप बढ्ने सम्भाावना बढेपछि सीसीटीभी जोडिएको हो । रसुवागढी भन्सार कार्यालयका अनुुुसार रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म सीसीटीभी जडान गरिएको छ ।

नाकामा हुनसक्ने अवैध क्रियाकलाप रोक्नका लागि सीसीटीभी जडान गरिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा सीसीटीभी जोडिएको छ । प्रहरी कार्यालयमा पाँचवटा र कारागारमा तीनवटा गरी आठवटा सीसीटीभी जोडिएको प्रहरी नायव उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

सीसीटीभी जडान गरेपछि कार्यालयमा नै बसेर निगरानी गर्न सहज भएको उहाँले बताउनुभयोे । भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात तथा निर्यात बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १३:०२