१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमाले–माओवादी एकता तयारीमा ग्रहण, वैशाख ९ मा एकीकरण हुनेमा शंका


१ वैशाख, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा हुन लागेको पार्टी एकताको तयारीमा ग्रहण लागेको छ । दुई वाम घटक एमाले र माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते एकता हुने तय भए पनि तयारी हुन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर दुई पार्टीबीच एकताको टुंगो गरिएको थियो तर तयारी नभएका कारण पार्टी एकता हुनेमा शंका देखिएको छ ।

यही बीचमा सचिव सरुवामा मन्त्रीहरुको हालीमुहाली तोडेका प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाउँदै माओवादीमन्त्रीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो पोखेका थिए । अघिल्लो मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई पार्टीको एकता संयोजन समिति बैठकमा एकताको मितिबारे सहमति भएको थियो । पार्टी एकताको बारेमा मिल्न बाँकी विषयमा ओलीको भारत भ्रमण लगत्तै छलफल हुने भनिएपनि हुन सकेको छैन ।

सोही बैठकको निर्देशन अनुसार दुबै पार्टीलाई लाखौँ कर्यकर्ता सडकमा उतारेर एकताको तयारी गर्न निर्देशन दिएको थियो तर नेताहरुमा निर्देशनको पालना गरेर तयारी गर्नेभन्दा पनि बढी निराशा देखिएको छ । जसका कारण वैशाख ९ मै पार्टी एकता हुनेमा शंका बढेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार २०:३२