३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

भक्तपुर औद्योगिक मेलामा ३ करोडको कारोबार

१ वैशाख, भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको कारोबार भएको छ ।

नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रु तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ ।

दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताए । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

मेलाको सातौँ दिन बिहीबार शिव हमाल, दि मोशा ब्याण्ड, रोशन श्रेष्ठ, रीता केसी, सरिमा श्रेष्ठ, उदेश श्रेष्ठलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिए ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १५:५८