१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

प्रथम राष्ट्रिय आर्थिक गणना आजबाट शुरु

१ वैशाख, काठमाण्डौ । प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ आजबाट शुरु भएको छ । मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत तुल्याउनु पर्ने आजको आवश्यकता रहेकाले सबै उद्योग, व्यवसाय, विभिन्न सेवाप्रदायकलगायतका संघसंस्थाजस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को तथ्यांक संकलन गर्ने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध गराउनु रहेको छ ।

आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालीम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग उनले आग्रह गरे ।

विभागद्वारा यहाँ आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १५:२३