३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

युवा संघमा नयाँ समीकरण, पहारीलाई दिलुको साथ, आचार्यले पाएनन् ओलीको अार्शिवाद

३० चैत, काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघमा नयाँ नेतृत्वको विषयलाई लिएर आन्तरिक समिकरण अर्थात गुटमा व्यापक फेरबदल आएको छ । पार्टी भित्र भन्दा बढी गुटको राजनीतिमा रमाउने युवासंघका नेता यतिबेला समूह परिवर्तन गरी नेतृत्व हत्याउने रणनीति बनाउन व्यस्त भएका छन । संघका अध्यक्ष राजिव पहारी प्रदेश ४ को प्रदेशसभामा कास्कीबाट निर्वाचित भएपछि युवा संघमा नेतृत्व परिवर्तनको विषयले चर्चा पाएको थियो । कार्यकारी पदमा एक व्यक्ति एक पद हुनुपर्छ भन्दै वर्तमान नेतृत्वलाई विस्थापन गर्ने विषय अहिले पेचिलो बनेको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता अघि नै युवा संघमा नयाँ नेतृत्व दिन पार्टी नेतृत्वले पनि चाहेको छ ।

तस्बीरमा युवा संघका अध्यक्ष राजिव पहारी, उपाध्यक्षहरू दिलु पन्त, रमेश पाैडेल, महासचिव किरण पाैडेल र सचिवालय सदस्य रमेश अाचार्य ।

यद्यपी पार्टीले युवा संघको इन्चार्जका रुपमा तोकेका महेन्द्र पाण्डेको भूमिका भने प्रभावकारी देखिएको छैन । अहिले युवा संघभित्र स्थायी प्रतिपक्षको रुपमा रहेको उपाध्यक्ष दिलु पन्त समूह वर्तमान अध्यक्ष पहारीलाई नै निरन्तरता दिनुपर्ने लबिङमा लागेको छ । संघको केन्द्रीय कमिटी बैठकबाट आफू अध्यक्षमा अनुमोदित हुने अवस्थामा नरहेपछि गुटभित्र अन्तर्घातको आरोप खेपेका पहारीलाई नै समथर्न गर्ने निष्कर्षमा पुगेको पन्तसमूहका एकजना सचिवले दैनिकीलाई बताए । उनले भने ‘हामीले अन्तिम समयसम्म युवा संघमा महिला नेतृत्व स्थापित गराउने प्रयत्नमा छौँ यद्यपी त्यो सम्भव नहुने अवस्थामा वर्तमान अध्यक्षलाई नै निरन्तरता दिने विषयमा स्पष्ट भएका छौँ ।’

अहिले युवा संघका उपाध्यक्ष रमेश पौडेल पनि अध्यक्षका प्रवल दावेदारका रुपमा प्रस्तुत भएका छन । उनलाई युवा संघका पुर्व अध्यक्ष लगायत बहुमत केन्द्रीय सदस्य र पार्टीको संस्थापन समूहले समथर्न गर्ने उनी निकटका एक सचिवालय सदस्यले बताए । विगतमा पार्टी संस्थापनको उम्मेदवार भएर अध्यक्ष बनेको पहारी भने अहिले संस्थानकै विरुद्धमा क्रियाशिल बनेको आरोप लागेको छ । आगामी वैशाख २ गते सचिवालय, ३ र ४ गते वस्ने केन्द्रिय कमिटीको बैठकले नयाँ नेतृत्व चयन गर्ने भएपछि आन्तरिक समिकरण परिवर्तन भएको हो ।

संघका एक उपाध्यक्षका अनुसार अहिले बनेको समिकरण अनुसार अध्यक्ष राजिव पहारीको पक्षमा उपाध्यक्ष दिलु पन्त, चन्द्र लामा, नरेश शाही, माधव वास्तोला, हस्त शाही, क्रान्ति बुर्लाकोटी, रमेश आचार्य लगायत केन्द्रीय कमिटीका झण्डै ६१ जना सदस्य रहेका छन । उनीहरुलाई पार्टी भित्र उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले साथ दिनेछन ।

त्यस्तै नेतृत्व परिवर्तन गरेर नयाँलाई नेतृत्व दिनुपर्छ भन्ने पक्षमा उपाध्यक्ष गोविन्द थापा, रमेश पौडेल, राजु गुरुङ, किरण पौडेल, पर्शुराम बस्नेत, बचन सिंह, अशोका चन्द, हिराचन्द्र केसी कमल पाठक र प्रभात कटुवाल लगायत ११५ जना सदस्य रहेका छन । यो समूहले रमेश पौडेललाई अध्यक्षको रुपमा अघि सारेको छ ।

तत्कालीन अवस्थामा केपी शर्मा ओलीको सचिवालयमा कर्यरत रहँदा महेश बस्नेतको निगाहमा संघको सचिवालय सदस्य भएका आचार्यले भने संस्थापन समूह छाडेका छन । अनैतिक गतिबिधिमा संलग्न भएको अभियोगमा ओलीले सचिवालयबाट हटाएपछि आचार्य घरको न घाटको बनेका छन । उनले अब ओलीको आशिर्वाद नपाउने ओली निकट एक एमाले नेताले बताए । यद्यपी उनी सान्त्वनाका लागि दिलु पन्तले नेतृत्व गर्दै आएको समूहमा अध्यक्ष पहारी र सचिव बास्तोलासँगै समाहित भएका छन । बास्तोला महासचिव हुने लोभमा र आचार्य सचिव हुने लोभमा पन्त समूहमा पुगेको संघकै एक जना सचिवले आरोप लगाए । उनले भने ‘अहिले उनीहरुको मुख्य काम भनेकै महेश बस्नेतको खोइरो खन्ने हो, दुबैले विगत बिर्सिएर आफूलाई शक्तिशाली बनाउन खोज्दा घरको न घाटको भएका छन ।’ पार्टी भित्र भन्दा बढी गुटगत राजनीति गर्ने संघको वैशाख पहिलो साता हुने केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघभित्र पौडेल गुटलाई पार्टीको संस्थापन पक्षको साथ रहेकोछ । त्यस्तै पन्त गुटलाई पार्टी भित्र उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले संरक्षण दिँदै आएका छन । विगतमा माधव नेपाल गुटको संरक्षणमा रहेको भए पनि पार्टी एकताको प्रक्रियामा गएपछि माधव नेपालले आफ्नो नाममा गुट नचलाउने भन्दै पार्टी नेतृत्वलाई सहयोग गर्ने बताएर त्यही अनुसार काम गर्न थालेपछि भुषाल–भट्टराईले उक्त गुटको विरासत झलनाथ खनालको छाँयामा सञ्चालन गर्ने कोशिश गरिरहेका छन । तथापी माओवादीसँगको एकता प्रक्रियामा अघि बढ्दै गर्दा समुन्द्रजस्तो भैसकेको एमालेमा त्यस्ता गुटको प्रभाव देखिनेमा शंका रहेको छ ।

युवा संघ नेपालको विधान अनुसार प्रत्येक तीन वर्षमा केन्द्रिय महाधिवेशन गराउनु पर्ने र कुनै पनि नेतृत्व पंतिले ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने स्पष्ट तोकेको छ । महाधिवेशन गरी विधान संशोधन, विभिन्न मातहतका कमिटी तथा आयोगहरु निमार्ण गर्नुपर्ने, राजनैतिक, सांगठनिक प्रतिवेदन पारित गर्दै आगामि कार्ययोजना पारित गर्नुपर्ने भनि स्पष्ट तोकेको छ । युवा संघ नेपालका वर्तमान अध्यक्ष पहारीको नेतृत्वमा आयोजक कमिटी निमार्ण भएको र त्यसले विधानत हेर्ने हो भने उनी अध्यक्ष भएको चार महिना भित्रमा महाधिवेशन गरिसक्नु पर्ने हो तर उनी अध्यक्ष भएको वर्षौ वितिसक्दा पनि उनले महाधिवेश गराउने कुनै चासो दिएको पाइदैन । अध्यक्ष पहारी आफैमा पनि उमेर हद म्याद नाघीसकेको व्यक्ती हुन जुन आफ्नो संगठनको विधानभन्दा माथि उठि हालसम्म पनि नेतृत्व हस्तान्तरण गर्ने कार्यलाई चासोको विषयको रुपमा हेरेको नपाइएको संघका नेताले वताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १५:१४