बाणिज्य बैंकको पहिलो महिला सीइओ बनिन् अनुपमा खुँजेली, मेगा बैंकको सिइअाेमा नियुक्त
३० चैत, काठमाडौं । बाणिज्य बैंकको पहिलो महिला सीइओ अनुपमा खुँजेली बनेकी छिन् । मेगा बैंकले नयाँ कार्यकारी अधिकृतको रुपमा अनुपमालाई जिम्मेवारी दिएको हो ।यससँगैं उनि नेपालको बाणिज्य बैंकमा पहिलो महिला सीइओ बन्न पुगेकी हुन् ।
मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ । बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि शुरु हुनेछ ।
अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।
त्यसैगरी, माछापुच्छ्रे बैंकले पनि नयाँ सीईओ पाएको छ । २८ चैतमा बसेको बैंक सञ्चालक समिति बैठकले सुमन शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
एसबीआई बैंकबाट बैंकिङ करिअर शुरु गरेका शर्मासँग २१ वर्ष लामो अनुभव छ । शर्माले नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । नेदरल्यान्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्मा भौतिकशास्त्र र अर्थशास्त्रमा पनि स्नातकोत्तर हुन् ।
प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ०९:३६