१० पुष २०८१, बुधबार | Thu Dec 26 2024

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

२९ चैत, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् ।

प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए ।

बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले तराईका जिल्लाको उर्वरभूमि प्रदेश ५ मा रहेकाले भरपर्दो सिँचाइको व्यवस्था भए त्यसबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ सकिने पनि बताए ।

मुख्यमन्त्री पोखरेलले अव्यवस्थित जग्गा प्लटिङको शृङ्खलाले भूमिको खण्डीकरण भइरहेकामा चिन्ता व्यक्त गर्दै पहाडी क्षेत्रमा कृषियोग्य भूमि बाँझो अवस्थामा रहेको बताए ।

खुला सिमानाका कारण भारतबाट आउने कृषि उपजले स्वदेशमै उत्पादन हुने कृषि उपजलाई विस्थापन गरिरहेको सन्दर्भ अघि सार्दै उनले सहकारीको व्यवस्थापन र भौतिक पूर्वाधारको अभाव चुनौतीका रुपमा रहेको बताए ।

एकसय नौ स्थानीय तह भएको प्रदेश नं ५ मा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका रहेका छन् ।

तराई क्षेत्रसमेत रहेको यस प्रदेशमा सात हजार उचाइका हिमालसमेत रहेको छ । रुकुम हिमाली जिल्लाका रुपमा रहेको छ ।

पन्चानब्बे जातजाति रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार २५३ जनसङ्ख्या रहेको छ जहाँ ५२.४३ प्रतिशत महिला र ४७.५७ प्रतिशत पुरुष रहेका छन् ।

स्थितिपत्रमा उल्लेख भएअनुसार रु दुई सय १० अर्ब बराबरको गार्हस्थ्य उत्पादन हुने यस प्रदेशमा ४६.५ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ ।

यो प्रदेश दाल र तेलहनमा पहिलो स्थानमा रहेको छ भने माछा उत्पादनमा दोस्रो स्थानमा रहेको छ । खाद्यान्न उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा पनि त्यत्तिकै रहेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयलगायतका सामाजिक तथा आर्थिक विकासका सूचकाङ्कहरु पनि स्थितिपत्रमा समेटिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १७:२८