१ जेष्ठ २०८२, बिहीबार | Fri May 16 2025

मन्त्रिपरिषद् पुनर्गठनको सोच छैनः प्रधानमन्त्री ओली, मन्त्री फेर्ने हल्ला कसले र किन चलायो ?

१२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन गर्ने कुनै सोच नभएको बताएका छन । प्रधानमन्त्री निकटकै कतिपयले मन्त्रिपरिद् पुनर्गठनको तयारी भइरहेको भन्दै समाचार लेखाउने र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक पटक त्यही विषयमा प्रधानमन्त्रीसँग कुराकानी भैरहेको भन्दै राजनीति नै तरंगित बनाइरहेको समयमा प्रधानमन्त्री ओलीले तत्कालन त्यस्तो कुनै सम्भवना नरहेको बताएका हुन ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने कथा नेपालको जनतासँग प्रधानमन्त्री नामको एउटा शोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनबारे आफूले तत्काल केही नसोचेको बताएका हुन ।  उनले भने ‘मन्त्रीमण्डल भनेको पुर्नगठन गर्दा हुन सक्ने चिज हो । तर, अहिले पुर्नगठनसम्वन्धि कुनै सोच मैले बनाएको छैन ।’ यता उनकै सचिवालयका कतिपय सदस्यले अब मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्दै तलाउमा ढुंगा हान्ने काम गरिरहेका छन । सबैभन्दा बढी त प्रचण्डले नै यो विषय उचालिरहेका छन ।

विगतमा पनि मन्त्रिपरिषद् पुनर्गठनको नाममा अनेक समाचारहरू प्रकाशित भएका थिए । कतिसम्म भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै सफ्टवेयरका नाममा मन्त्रिहरू पास र फेल भन्दै समचार लेखाएर सरकारलाइ उल्टै कमजोर बनाउने काम गरेका थिए । विभिन्न स्वार्थ समूहका लागि विचौलियाको समेत काम गर्दै आएका त्यस्ता सदस्यको गतिबिधिबाट प्रधानमन्त्री समेत ज्यादै असन्तुष्ट बनेको बुझिएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार ०८:५७