१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मध्यरातमा गर्लफ्रेण्ड भेट्न गएका शिक्षकलाई स्थानीय युवाले कुटीकुटी मारे

११ असार, राजविराज । राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत बिराजीको युवाको समूहको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

सोमबार राति कुटपिटबाट घाइते भएको अवस्थामा प्रहरीले राजविराज–६ खर्साल टोलबाट उद्धार गरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना गराएको थियो । त्यहाँ उपचार हुन नसकेपछि आज बिहान नोबेल अस्पताल विराटनगर पु¥याइएको र उहाँको आज दिउँसो मृत्यु भएको मृतकका बुबा उपेन्द्र यादवले जानकारी दिनुभयो । मृतकका बुबाले हत्यामा संलग्न भएको आरोपमा आज अपरान्ह नौ जना विरुद्ध उजूरी दिनुभएको छ ।

मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा आजै शव परीक्षण भई आजै शव ल्याउने तयारी भइरहेको बताइएको छ । बिराजीलाई आफ्नो केटी साथी भेटन खर्साल टोल गएका बेला सोमबार राति स्थानीय युवाहरुले कुटपिट गरेको बताइएको छ । हत्याबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको र आरोपितको खोजीकार्य तीव्रताका साथ भइरहेको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।रासस

प्रकाशित मिति : ११ असार २०७६, बुधबार २०:५६