५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

छोराको आसमा गरे छ वटी विवाह

–कविता उपाध्याय
२९ चैतछ, रोल्पा । रोल्पामा बाँचुञ्जेल पाल्न र मरेपछि फाल्न छोरा चाहिन्छ भन्दै एक जनाले छ वोटी विवाह गरेको गर्वका साथ बताएका छन् ।
ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका ५९ वर्षीया पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताए ।

पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्रए । त्यसपछि एकपछि अर्काे गर्दै केही वर्षको फरकमा २०÷२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो ।

हाल उनकी श्रीमती करीब २२ वर्षकी छिन् । यसअघि भने पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए । उनीबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनकोे भनाइ छ ।

छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । ‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको बताए ।

यसरी एकमाथि अर्काे सौता हाल्दै गएपछि जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाइन । जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन् । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ ।

पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्काेतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्काे महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् ।

घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्या्दित तथा दूषित बनाउन सक्छ ।

त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन ।

यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारवाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने देखिन्छ । एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १४:०२