१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अब बस्ने बाम गठबन्धनको बैठकले पार्टी एकताको टुङ्ग्गो लगाउँछः अध्यक्ष दाहाल

२९ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आयोजित अध्यक्ष दाहालका आफ्नै सालो महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा माओवादी केन्द्र १४ नं वडा कमिटीले आयोजना गरेको शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

 

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”

 

उनले नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने बताए । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए ।

 

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताउनुभयो । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १३:०१