१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

सार्क क्षेत्रका सबै मिलेर लागुऔषध र आतंकवाद नियन्त्रण गर्ने निर्णय

२८ चैत, काठमाण्डौं । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि र स्थायित्व र विकासका लागि सार्क क्षेत्रका सबै संगै मिलेर नियन्त्रण गर्नु पर्ने निर्णय आवश्यक रहेको छ ।

आज आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताए ।

उनले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताए । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको र शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

हिजो र आज चलेको बैठकमा सार्क क्षेत्रको आतंकवाद, लागुऔषध र सुरक्षाबारे श्रीलंकाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल हुने र निष्कर्ष निकाल्ने गृह मन्त्रालयका उपसचिव मुनका न्यौपानेले जानकारी दिइन् ।

बैठकमा नेपालबाट १२, भारत चार, श्रीलंका तीन, बंगलादेश दुई, मालल्भिस दुई, पाकिस्तान एक, र भुटानका एक प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १३:४२