२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

प्रकाश सपुत र शान्ति श्री परियारको म्युजिक भिडियो गलबन्दीका ‘भ्युअर्स’ करोड बढी

२९ जेठ, काठमाडाैँ । सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गीत अहिले ‘टे«न्डिङ’ नं ६ मा छ । कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो । गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ ।

म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो ।सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं एकमा आएको थियो । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’ को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताउनुभयो, “बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो । उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ ।”

परम्परागत रोधीको झल्को दिने गरी गलबन्दी बनाएको सपुतले बताउनुभयो । गीतबाट सपुतको बहुप्रतिभा उजागर भएको छ । मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाइरहेका छन् । म्युजिक भिडिओको कथा, सोच र निर्माणपक्ष समेतले गीतलाई न्याय गरेको छ । लोकदोहोरीमा मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । “विशुद्ध मनोरञ्जनका लागि बनाइएको गीत हो”, सपुतले भन्नुभयो, “भिडियोमा मौलिकपन दिने प्रयास गरेको छु ।”

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लजालु युवतीका रुपमा म्युजिक भिडियोमा देखा पर्छन् ।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसाबले पनि सपुत सफल देखिनुभएको छ । गीतको भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन । भाका नेपाल प्रालिद्वारा निर्मित गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बन्नुभएका सपुतले सामाजिक मुद्दालाई पनि सिर्जनामार्फत मुखरित गर्दै आउनुभएको छ ।

गतवर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । पछिल्लो समय मौलिक लोक तथा दोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ हालसम्म चार करोड ५६ लाख भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १९:३०