२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

आइजिपी नियुक्तिमा ओली र प्रचण्डबीच भागवण्डा मिलेन, खनाल कि कार्की भन्नेमा विवाद

२७ चैत, काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख नियुक्तिकोे विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भागवण्डा नमिलेको एमालेका एक नेताले बताएका छन । माओवादीका मन्त्रीहरुले सोमबार प्रचण्डलाई भेटेर दुई प्रहरी संगठन मध्ये एकको आइजी माओवादी अनुकुलको हुनुपर्ने भनेर ध्यानाकर्षण गराएपछि आज बिहान बसेको मन्त्रिपरिषद्मा उक्त विषयले प्रवेश नै पाएन ।

यद्यपी आज प्रचण्डसँग सहमति जुटाएर ओलीले फेरि मन्त्रिपरिषद्को बैठक बसी आइजी नियुक्तिको निर्णय लिने सम्भावना रहेको छ । मन्त्रिपरिषद् बैठकमा सहभागी भएका मन्त्रीहरुका अनुसार प्रधानमन्त्री ओलीले आजै अर्को बैठक हुन सक्ने भन्दै समय अन्त नदिन आग्रह गरेका छन ।

आइजी नियुक्तिमा ओली र प्रचण्डको रोजाइमा फरकफरक व्यक्ति परेपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न नसकेको हो । कसलाई आइजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्ताव नै पेश गरेनन् । मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा छलफल भए पनि प्रधानमन्त्रीबाट प्रस्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको गृहका एक अधिकारीले बताएका छन ।

ओलीले पुष्कर कार्कीलाई आइजी बनाउन चाहेका छन भने प्रचण्ड सर्वन्द्र खनाल नै हुनुपर्ने अडानमा रहेका छन । गृहमन्त्रालयको नेतृत्व माओवादी नेताले गरिरहेकाले ओलीले एकपक्षीय रुपमा निर्णय गर्न नसक्ने अवस्था नरहेकाले प्रचण्डलाई समेत विश्वासमा लिएर ओलीले निर्णय गर्नुपर्ने बाध्यता रहेकोे छ ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १३:०६