११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

८ वटा नीजि अस्पताल र ६ वटा पोलिक्लिनिक ७ दिनभित्र बन्द गर्न निर्देशन

२४ जेठ, सिरहा । सिरहामा नियम विपरित सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो ।

संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, चोहर्वा, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् ।

त्यसैगरी, आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो । यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका छन् । उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण भइरहेको दावी गरेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार १४:२६